काठमाडौं, माघ ६ । संविधानसभाको बैठक स्थगित भएपछि संविधानसभा परिसरबाटै नाराबाजी गर्दै मंगलबार बाहिर निस्केका विपक्षी मोर्चाका सभासदहरु र प्रहरीबीच विजुलीबजारमा पुग्दा झडप भएको छ । विजुलीबजारमा आयोजित कोणसभालाई सम्बोधन गर्न हिँडेका विपक्षी नेताहरुसहितको समूहले निषेधित क्षेत्रमा प्रदर्शन र नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
/झडपमा एमाओवादी सभासद जनार्दन शर्मालगायत घाइते भएका छन् । झडपका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने प्रहरी भ्यानमा चढेर घरतिर लागेका थिए । यसैबीच, दिनभरको बन्द समापन गर्दै एमाओवादी नेता डा. बाबुराम भट्टराईले ‘जालझेल र षड्यन्त्र गरेर कांग्रेस–एमालेले पुरानै संविधान ल्याउन लागेकाले प्रतिकारमा उत्रनुपरेको’ तर्क गरेका छन् । उनले ‘४७ साले भूत जागेको र आफूहरुले संविधानसभाबाट जनविद्रोह सुरु गरेको’ तर्क गरे । संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता एजेन्डा आफ्नो पार्टीको भएको दलील गर्दै भट्टराईले ती उपलब्धि प्राप्त नगर्दासम्म संघर्ष कायमै रहने बताए ।
