काठमाडौं, माघ ६ । नेपाली कांग्रेसले पनि संविधान लेखनको प्रक्रिया अघि बढाउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले संविधानसभा भवनमा भएको आक्रमणको भत्र्सना गर्दै प्रक्रिया अघि बढाउन सभाध्यक्षलाई आग्रह गरेको हो । बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले संसदीय पद्धतिअनुसार विरोध गर्ने अधिकार सबैमा भएपनि आक्रमणमा उत्रिनु निन्दनीय भएको टिप्पणी गरे । उनले आक्रमणमा संलग्न सभासदहरुलाई तत्काल कारबाही गर्न पनि माग गरे । संविधानसभा भवनमै बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठकले पनि संविधानसभामा भएको आक्रमणको भत्र्सना गर्दै प्रक्रिया अघि बढाउन सभाध्यक्षलाई आग्रह गरेको छ । राप्रपाले आक्रमणकै कारण संविधान लेखनको प्रक्रिया रोक्न नहुनेमासमेत जोड दिएको छ ।
