काठमाडौं, माघ १० । राजनैतिक दलहरुका प्रतिबद्धताका बाबजुद माघ ८ गते पनि संविधान जारी हुुन नसक्नु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको निजी क्षेत्रले ठहर गरेको छ ।  संविधान निर्माण कार्यमा भएको ढिलाइले राजनीतिक संक्रमणकाल लम्बिएको, विकास निर्माणका कार्यहरु अवरुद्ध भएको, रोजगारीहरुका अवसर न्यून भएकोे, सर्वसाधारणको दैनिकी थप कष्टकर भएको तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा नकरात्मक सन्देश प्रवाह भइ अन्ततः समग्र आर्थिक क्षेत्र प्रभावित भएको भन्दै निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ ।  माघ ८ गते संविधान जारी नुहँदा मुलुकमा बढेको राजनीतिक अस्थिरताले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले चिन्ता व्यक्त गरेका छन् ।  ‘सीएनआइ’ले आर्थिक र राजनितिक वातावरणलाई थप अनिश्चित नबनाउन दलहरुलाई आग्रह गरेको छ । तोकिएको समयमै संविधान जारी नहुनु र संविधानसभाभित्र भएको गतिविधिले लगानीको वातावरणलाई प्रतिकूल असर पारेको ठहर परिसंघको छ ।  यस्तै, चेम्बरले मुलुकमा स्थायी शान्ति हुने अपेक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका लगानीले निजी क्षेत्र केही उत्साहित भएपनि समयमै संविधान बन्न नसक्दा निजी क्षेत्रलाई थप चिन्तित तुल्याएको जनाएको छ ।  चेम्बरले अविलम्व संविधान निर्माण गरी मुलुकको आर्थिक विकासको मार्ग प्रशस्त गर्न दलहरुलाई आग्रह गरेको छ ।
 
Top