पोखरा मंसिर । यातायात व्यवसायी भद्र आन्दोलनमा उत्रिने निर्णय गरेका छन् । आफनो एक सुत्रिय मागलाई सम्बोधन नगरेपछि गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले आईतबारदेखि भद्र आन्दोलनमा उत्रिने निर्णय गरेको हो । भद्र आन्दोलन अन्तर्गत आईतबार समितिले पोखराको व्यस्त बजार विपीचोकदेखि सभागृहचोकसम्म सडकको दुवै किनारमा आफना सवारी पार्किङ गरी तोकिएको पार्किङ शुल्क तिर्ने जनाएको छ । पोखरा उपमहानगरपालिकाले सडक र पार्किङलाई व्यवस्थित गर्ने नाममा ठेक्का दिई पार्किङ उठाउने जिम्मेवारी कम्पनीलाई दिएको छ । समितिले पनि विहान नौ बजेदेखि दिउँसो १२ बजेसम्म विपीचोकदेखि सभागृह चोकसम्मको सडकको दायाँवायाँ पार्किङ गरी तोकिएको पार्किङ शुल्क तिर्ने निर्णय गरेको समितिका अध्यक्ष बसन्त प्रधानले जानकारी दिए ।
‘हामीले भद्र आन्दोलन स्वरुप तोकिएको पार्किङ शुल्क तिरेर सडकको दायाँ बायाँ सवारी पार्किङ गर्ने छौं’ अध्यक्ष प्रधानले भने—‘ दोस्रो दिन समय समय र ठाँउ पनि परिवर्तन गर्ने छौं ।’ उनका अनुसार २९ गते सोमबार व्यवसायीले विपीचोकहुदैं सभागृह र पृथ्वीचोकदेखि महेन्द्रपुलसम्मको सडकमा पार्किङ गरिने छ । सोमबार विहान नौबजेदेखि दिउँसो दुई बजेसम्म पाँचघण्टा पार्किङ गरिने छ । पुस १ गते विपीचोकदेखि सभागृह, पृथ्वीचोक नयाँबजार महेन्द्रपुलसम्म सृजनाचोकदेखि चाईनापुलसम्म विहान नौबजेदेखि ४ बजेसम्म सडकको दायाँ बायाँ सवारी पार्किङ गर्ने समन्वय समितिका महासचिव गोकर्ण कार्कीद्वारा हस्ताक्षरिक विज्ञप्तिमा उल्लेख छ । त्यसपछि पनि एक सुत्रियमाग प्रति सम्बोधन नभए बैठक बसेर थप संघर्षका कार्यक्रम सञ्चालन गर्ने समन्वय समितिले जनाएको छ ।
