काठमाडौं, आश्विन १ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोलाको संक्रमण विश्व सुरक्षाका लागि नै खतरा भएको बताएका छन् । इबोला भाइरसविरुद्ध बृहत अमेरिकी भूमिकाको घोषणा गर्दै ओबामाले विश्वले अमेरिकालाई हेरिरहेको तर संक्रमणविरुद्ध विश्वकै ध्यान जानु आवश्यक भएको बताए । यसअघि नै ओबामाले पश्चिम अफ्रिकामा नयाँ स्वास्थ्य संस्थाहरु निर्माणमा सघाउन तीन हजार सेना पठाउने घोषणा गरेका छन् ।
यस्तै, स्वास्थयकर्मीहरुलाई पनि तालिम प्रदान गरिने छ । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले इबोला संक्रमण आधुनिक विश्वकै स्वास्थ्य संकट भएको घोाषणा गरेलगत्तै अमेरिकी राष्ट्रपतिको घोषणा आएको हो । गिनीबाट फैलिएको इबोलाका कारण २४ सय ६१ जनाको मृत्यु भैसकेको छ । मानिसबाट मानिसमा समेत सर्न सक्ने इबोला भाइरसको कुनै पनि उपचार पद्धति वा खोप विकसित भैसकेको छैन ।
