इन्छन, (दक्षिण कोरिया), आश्विन १ । दक्षिण कोरियामा जारी एसियाली खेलकुदमा अन्य देशबाट आउने खेलाडी, प्रशिक्षक, व्यवस्थापक भाग्न सक्ने खतरा बढेको भन्दै आयोजक कमिटीको सुरक्षा निकायले निकै सतर्कता अपनाएको छ । सुरक्षा निकायलाई उद्धृत गर्दै सोलस्थित नेपाली राजदूतावासका कन्सुलर राजाराम बर्तौलाले नेपालकोमात्र नभइ दक्षिण कोरिया आउने अधिकांश देशका टिमलाई गम्भीरपूर्वक लिइएको जनाएका छन् ।  बर्तौलाले नेपालीहरुलाई कोरियाली सरकारले ठूलो सम्मानपूर्वक हेर्ने गरेको भन्दै सोही सम्मानको कदर गर्नसमेत आग्रह गरेका छन् ।
  इन्छन एसियाडका ब्रान्ड एम्बेसेडरसमेत रहेका दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले राष्ट्रको गौरव कायम राख्न खेलाडीहरुलगायत सबैलाई आग्रह गरिएको जनाए ।  यता, नेपाली टोलीका ‘सेभ दि मिसन’ छिमी उर्केन गुरुङले भने  खेलाडीहरु पदक बटुलेर आफ्नो र देशको नाम राख्न आएकाले सबैलाई बराबरी दृष्टिले हेरेको बताए । नेपालीहरु आफ्नो प्रतिष्ठा जोगाउन सिपालु छन् भन्दै गुरुङले व्यवस्थापकलाई भने सचेत गराएको जनाए । उनले खेलाडी, ब्यवस्थापकलाई खेलमा मात्र ध्यान दिन आग्रह गरेका छन् ।  सेभ दि मिसन गुरुङले सबै कुराको निगरानीका लागि एक विशेष टोली परिचालन गरिएको जनाएका छन् । दक्षिण कोरियामा यसअघि केही नेपालीहरु खेल्न आएकै बेला भाग्ने गरेको इतिहास छ । 
 
Top