आश्विन २ । राष्ट्रपति
डा.रामवरण यादवले युवाहरुको बढ्दो विदेश पलायनलाई रोक्न सीपमूलक शिक्षा र तालिममा राज्यले लगानी बढाउनु पर्ने बताएका छन् । झापाको भद्रपुरस्थित मेची क्याम्पसको स्वर्ण महोत्सवको समापन समारोहलाई विहीबार सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले संविधान निर्माणपछि मात्रै मुलकमा राजनीतिक स्थायित्व कायम हुने हुँदा राष्ट्रिय एकतामा जोड दिए । मुलकमा रहेका ३० लाख युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न राज्यले पहल गर्नुपर्ने उनको भनाइ थियो । मेची बहुमुखी क्याम्पसको हाताभित्र निर्माण गर्न लागिएको प्रशासनिक भवनको शिलान्यास गर्नुका साथै स्वर्ण महोत्सवस्तम्भको पनि राष्ट्रपति यादवले अनावरण गरे । कार्यक्रममा क्याम्पसका संस्थापक प्राचार्य जगतबन्धु कार्की, चूडामणि रेग्मीलगायत दुई दर्जन व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हिराबहादुर महर्जन, एमाले सचेतक अग्नि खरेल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला लगायतले शिक्षामा लगानी गर्नुपर्ने बताएका थिए ।
