पोखरा ११ असार । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रमुख चार शक्तिबीच भएको १६ बुँदे सहमतिले संविधान निर्माणको आधार तयार गरेको बताउनु भएको छ । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सर्बोच्चको आदेश राजनीतिक उद्धेश्यबाट उत्प्रेरित, शक्ति पृथकीकरणको सिद्धान्त विपरीत तथा आश्चर्यजनक र विबादास्पद भएको टिप्पणी गदै १६ बुँदेकै आधारमा संविधान निर्माण हुने बताउनुभयो ।
उहाँले संविधान निर्माणमा जो कोहि बाधक बनेपनि नेपाली जनताले क्षमा नदिने दावी गदै संविधानसभालाई कसैले बारबन्देज लगाउन नमिल्ने बताउनुभयो । ज्ञवालीले सर्बोच्चको आदेश र गतिविधीलाई नजिकबाट संयमतापूर्वक हेरिरहे र केहीसमय पछि त्यस्ता आदेश र गतिविधीलाई अंकुश लगाउनेबारे छलफल भइरहेको पनि उहाँले जिकीर गर्नुभयो । उहाँले असार अन्तिम साता सम्म नयाँ संविधान जारी हुने र साउन पहिलो सातासम्म एमाले नेतृत्वमा सरकार निर्माण हुने दावी समेत गर्नुभयो ।
नेता ज्ञवालीले भुकम्पबाट राष्ट्रलाई एकजुट बनाउने अवसर जुरेपनि सरकारको ढिलासुस्तीका कारण त्यो अवसर गुमेको बताउनुभयो । भुकम्पले क्षेति र्पुयाएपनि अबको ५ वर्षमा नेपाली आफै उभिनसक्ने अवस्थामा पुग्ने र त्यसपछि आर्थिक सम्बृद्धि तर्फ देश लम्कने ज्ञवालीको दाबी थियो । कार्यक्रम प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
