पोखरा  चैत ।पोखरामा बिक्री हुँदै आएको खसी कुखुरा र राँगाको मासुमा चरम लापरवाही भएको भेटिएको छ । एका दुई पोखराका मासु पसल बाहेक अधिक मासु पसलहरुले मनोमानी गरेको भेटिएको हो । पोखरा उपमहानगरपालिका कार्यालयको संयोजनमा उपभोक्ता मञ्च कास्की, जिल्ला पशुसेवा कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्की तथा पत्रकारहरु सम्मिलित टोलीले गरेको अननुगमनका बेला मंगलबार पोखरामा मासुमा प्रयोग गरिदै आएका तीन वोतल विषादी जफत गरिएको समितिले बताएको छ ।  समितिले पोखराको हस्पिटल चोकमा रहेको रोशन कोल्ड स्टोर्सवाट दुई वोतल वायोन मेटासिड नामक मासु फुलाउने विषादी जफत गरेको छ । त्यसै गरी सो पसलले शौचायलको ढोकामा नै मासु काटेर विक्री गर्दै आएको भन्दै समितिले कागज पत्र समेत वरामद गरेको छ । यसैगरी न्यू मनिस फ्रेस हाउस रामवजारवाट १ बोतल मेटासिड विषादी वरामद गरेको समितिले जनाएको छ । एउटा जीउँदो कुखुरालाई रु २ सय ७५ मा खरिद खरिद गरेका व्यवसायीले त्यही कुखुराको साँप्रा मात्र छुट्याएर रु ७ सय ८० रुपैयाँ प्रतिकिलो विक्री गरेको भेटिएपछि पोखरामा कुखुराको मासुमा कालो वजारी भएको अनुगमन समितिले पुष्टि गरेको छ ।  समितिले अनुगमन गरेका पसलहरुको मासुको मूल्यमा एक रुपता नभएको तथा अधिक मासु पसलहरुमा मूल्य सूचि पनि नभएको समितिले जनाएको छ । समितिले लगातार तीन दिन सम्म गरेको अनुगमनमा पोखराका ६० वटा मासु पसलमा अनुगमन गरिसकेको जनाएको छ । अनुगमनमा पोखरा उपमहानगरपालिकाका नगर निरिक्षक वसन्त चालिसे, उपभोक्ता मञ्च कास्कीका सदस्य एवं प्रचार विभाग प्रमुख कमल पौडेल अथक, जिल्ला पशुसेवा कार्यालय कास्कीका प्रतिनिधी फणिन्द्र ढकाल, जिल्ला खाद्य निरिक्षक शिबजी बराल र पत्रकारहरुको सहभागीता रहेको थियो ।
 
Top