भुटानबाट पोखरेलीले सिक्नुपर्ने धेरै


क्षेत्रफलको हिसावले नेपाल भन्दा धेरै सानो भए पनि भुटानबाट पोखरेली र यहाँका पर्यटन व्यवसायीले धेरै कुरा सिक्न सक्ने हालै राजधानी थिम्पु पुगेर पोखरा फर्किएको पोखरेली पर्यटन व्यवसायीको टोलीले जनाएको छ ।भुटानको थिम्पुमा यही माघ २१ गतेबाट २३ गतेसम्म संचालन भएको पर्यटन मेलामा सहभागिता जनाएर पोखरा फर्किएको व्यवसायीको टोलीले त्यस्तो अनुभव सुनाएको हो । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीको नेतृत्वमा संघका कार्यसमिति सदस्य नरेशवहादुर भट्टराई, साधरण सदस्य नारायण पहारी र रेवान पोखराका अध्यक्ष गोपिवहादुर भट्टराई थिम्पु पुगी हालै नेपाल फर्किएका हुन् ।टोलीमा सहभागी संघका अध्यक्ष भरतराज पराजुलीले भुटान भुपरिवेष्ठित राष्ट्र भए पनि त्यहाँको पर्यटनबाट पोखराले धेरै कुरा सिक्न सक्ने बताए । शान्त र सफा ठाउँ तथा नियम कानून मान्ने अनुसाशित जनताको व्यवहारबाट आफूहरु प्रभावित भएको उनले सुनाए ।पर्यटन अगाडि बढाउने सरकारी नीति, ट्याक्सी ड्राइभरहरुको अनुसासन, ट्याक्सी भाडामा एकरुपता तथा व्यवस्थित गरिएका पर्यटकीय सम्पदाबाट आफूहरु प्रभावित भएको उनले बताए । थोरै तर गुणस्तरी पर्यटक भित्र्याएर पर्यटनलाई माथी लैजाने भुटानको नीति पोखराका लागि पनि काम लाग्ने उनले सुनाए । कम प्रदूषण, सवारी साधनले सामान्यतया हर्न प्रयोग नगर्ने अनुसासन र संस्कृतिको संरक्षण पनि भुटानी जनताका सकारात्मक पक्ष भएको उनले सुनाए । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त अग्लो डाँडाको मुन्तिर रहेको बताउँदै पराजुलीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्दैन भन्ने हरुका लागि यो अवस्था गतिलो जवाफ हुन सक्ने बताए ।  पाटा एड्भेञ्चर ट्राभल एण्ड रेस्पोन्सिवल टुरिजम कन्फेरेन्स एण्ड मार्ट २०१५ नाम दिएर संचालन भएको कार्यक्रम प्यासिफिक एसिया ट्राभल एसोसिएसनले खुसी मनाऔं, पर्यटन भन्दा माथि उठेर खोजी तथा पहिचान गरौं भन्ने थिम अन्तर्गत आयोजना गरेको हो । मार्टमा एसिया प्यासिफिक क्षेत्रका २६ देशका होटल, ट्राभल, ट्रेकिङ र सरकारी क्षेत्रका अधिकारीको उपस्थिति रहेको थियो । नेपालबाट नेपाल पर्यटन बोर्ड, पाटा नेपाल च्याप्टर र अन्य १४ कम्पनी सहभागी थिए । भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले नेपाल र भुटानको पर्यटन एकै खालको भएको बताउँदै मिलेर प्रवद्र्धनमा लाग्नुपर्ने नेपाली पत्रकारसँगको भेटमा बताएका थिए ।  मेलामा पर्यटन र यसको प्रवद्र्धन तथा समस्याका बारेमा विज्ञहरु विच छलफल तथा व्यवसायीले यससम्बन्धी अनुभव आदान प्रदान गरेका थिए । वातावरण संरक्षण तथा जिम्मेवार पर्यटनका बारेमा समेत मेलामा छलफल गरिएको थियो । थिम्पुको द रोयल बेङ्कुइट हलमा भएको कार्यक्रममा सामाजिक उत्तरदायित्व, दीगो पर्यटन तथा पर्यटनका लाभ बारेमा समेत छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
 
Top