पोखरा ८ माघ । फागुन तेस्रो साता पोखरामा शहीद सप्ताह खेलकुद महोत्सव २०७१ आयोजना हुने भएको छ । युवा संघ कास्कीले आगामी फागुन २१ देखि २७ गतेसम्म पोखरा रगंशालामा महोत्सव गर्ने तयारी गरेको युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए । खेलकुद महोत्सवमा अन्तर जिल्लाब्यापी फुटबल प्रतियोगिता, कास्की जिल्ला स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिता र १० किलो मिटर दौड आयोजना गर्ने तयारीमा जुटेको अध्यक्ष पुनले जानकारी दिए ।
अन्तर जिल्ला ब्यापी फुटबलमा ४० टिम र कास्की जिल्लास्तरीय भलिबल प्रतियोगितामा ३५ टिमले सहभागीता जनाउने अनुमान गरिएको युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले जानकारी दिए । त्यस्तै सडक दौडमा करिव २ सय जनाको सहभागीता रहने अनुमान गरिएको छ । फुटबलमा र भलिबलका विजेताले टिमले नगद ५० हजार, उपविजेताले ३० हजार र तेश्रोले १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने युवा संघ कास्कीका प्रवत्ता पानबहादुर घर्तीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट गोलकता र अनुसासित टिमलाई नगद ५ हजार सहित ट्रफि प्रदान गरिने बताइएको छ । त्यस्तै दौडका विजेताले नगद ११ हजार, द्धितियले ७ हजार र तृतियले पाँच हजार प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सहभागी हुन फुटबलमा ५ हजार र भलिबलमा ३५ सय तथा दौडमा दर्ता शुल्क स्वरुप एक सय रुपैयाँ राखिएको अध्यक्ष पुनले बताए । टिमलाई खेलकुद महोत्सव सम्पन्न गर्न युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति गठन र २९ सदस्यीय सचिवलाय गठन गरेको छ । फुटबल संयोजकमा नविन पुन, भलिबल संयोजकमा राजु अधिकारी र दौड संयोजकमा भुवन घिमिरेलाई चयन गरेको छ । महोत्सवको उद्घाटन युवा संघका अध्यक्ष एवं उद्योग मन्त्री महेश बस्नेतले उद्घाटन गर्ने र समापन एमाले अध्यक्ष केपी ओलीले गर्ने अध्यक्ष पुनले बताए । खेलकुद सप्ताह सम्पन्न गर्न करिव २० लाख ५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष पुनले जानकारी दिए ।
