काठमाडौं । पलेँटी उत्सवको दोस्रो दिन गायिका कुन्ती मोक्तानका स्वरले सिगारिएको छ । तीन वर्ष अघिदेखि आयोजना हुँदै आएको यो उत्सव गत वर्ष मात्र दिवंगत भएका सदावहार गायक एवं यस अभियानका पहिलो प्रस्तोता स्व. फत्तेमानको सम्झना गरेर सुरु भएको थियो ।
यसपालीको कार्यक्रममा अहिलेसम्म सार्वजनिक नभएको उनको गीत ‘मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ’ सुनाएर आयोजक नेपालयका किरणकृष्ण श्रेष्ठले कार्यक्रम थालनीको घोषणा गरेका थिए । पलेँटीकै अर्का प्रतिभा मञ्जुलको रचना र पलेँटीका संयोजक आभासको संगीतमा तयार भएको यो हृदयस्पर्शी गीत जावलाखेलस्थित डिएभी स्कुलको अडिटोरियममा बज्दा फत्तेमानका श्रोता भावुक भएका थिए ।
दोस्रो दिनको प्रस्तुतिमा कुन्ती मोक्तानले ‘डालीडालीमा हो डालीडालीमा गाएर सुरु गरेदेखि नै दर्शकहरु उत्साहित थिए । मोक्तानले ‘आजदेखि’, ‘खुट्टा तान्दै गर’ र ‘भुइँचालो’ सुनाइएकी थिइन् । अर्को चर्चित ‘चोली राम्रो पाल्पाली ढाकाको’ पछि उनले फेरि उही ८० कै दशकतिर दर्शकलाई फर्काइन् र सुनाइन् ‘तिम्रो मायाले मलाई डोर्याई ल्यायो’ ।
.jpg)