पोखरा १ असोज । शान्तिका लागि नागरिक समाजको सञ्जाल,कास्कीले मंगलबार आयोजना गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन हुन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सञ्जालको सचिवालय इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा बुधबार बसेको बैठकपछि विज्ञप्ति प्रकाशित गदै ध्यानाकर्षण भएको जनाएको हो । पहिलो संविधानसभाले संविधान निर्माण गर्न असफल भई दोस्रो पटक निर्वाचनपछि आगामी माघ ८ भित्रमा संविधान निर्माण गरी जारी गर्ने वातावरण सहजताका लागि नेकपा–माओवादी लगायत ३३ दलीय मोर्चाको आग्रह अनुरुप भदौ ३१ गते विहान आयोजित सर्वपक्षीय राजनीतिक सम्मेलनमा नेकपा माओवादी लगायतका दलहरू अनुपस्थित भएका कारण समय विलम्ब गर्दै नेकपा माओवादी लगायतका ३३ दलीय मोर्चा अनुपस्थित रहनु र त्यस कारणले सम्मेलन नहुनु अत्यन्त दुःखद परिस्थिति भएको सञ्जालको ठहर गरेको छ । लामो त्याग र बलिदानपछि नेपाली जनताले लोकतान्त्रिक पद्धति अनुसार सबै नेपालीको अपनत्व हुने संविधान निर्माण गर्न सघाउ पु¥याउने संविधान सभाभित्र वा बाहिर रहेका सवै राजनीतकि दलहरूको प्रमुख दायित्व भएको भन्दै सञ्जालले देश र जनताप्रति जिम्मेवार बनी संविधान निर्माणको कार्यलाई निर्धारित समयभित्र पूरा गर्न सबै राजनीतिक दलहरू एवं संविधान सभा बाहिर रहेका नेकपा–माओवादी लगायत ३३ दलीय मोर्चासँग जोडदार आग्रह गरेको छ ।   

 नेपालीहरूका ठूला चाडपर्वहरूको अवसरमा यातायात टिकट, उपभोग्य सामाग्रीहरूमा कालोबजारी, कृत्रिम अभाव, मिसावट आदि उपभोक्ता हित विरूद्धका अपराधलाई बेलैमा नियन्त्रण गरी दोषीलाई दण्डित गर्न तथा यातायात लगायत उपभोग्य सामाग्रीहरू सर्वसुलभ गराउन सरकारसँग जोडदार माग गरेको छ ।

 विज्ञप्तिमा सञ्जालका संयोजक रामप्रसाद सुवेदी, पूर्व संयोजकहरु टेकनाथ बराल, खगराज आचार्य, विष्णुप्रसाद बराल, नेपाल पत्रकार महासंघ, कास्की अध्यक्ष रामकृष्ण ज्ञवाली, इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल, नेपाल सर्वपक्षीय दलित संस्था, कास्की, दुर्गाबहादुर सुनार, सुशासनका लागि नागरिक समाजका अध्यक्ष, पुण्य पौडेल, जनआन्दोलन शहिद परिवार तथा घाईते समवन्य समितिका अध्यक्ष ढाकाराम पौडेल, परिर्वतन नेपाल, कास्की उपाध्यक्ष राज क्षेत्री, नारी सेवा केन्दकी कोषाध्यक्ष अन्जना केसी, हुर्जा, कास्की अध्यक्ष, राजेश पराजुली, एड्भोकेसी फोरम, पोखरा, संयोजक सरलाकुमारी पाण्डे, मानवअधिकार एलायन्स, पश्चिमाञ्चल, सचिव जानकी शर्मा, सिरान, कास्की अध्यक्ष कुश्माखर आचार्यले हस्ताक्षर गरेका छन् ।
 
Top