पर्वत, जेठ १० - उत्तरी म्याग्दीको भगवती–२, बैंसरीमा खसेको भीषण पहिरोका कारण मध्यरातदेखि कालीगण्डकी नदी थुनिएपछि पर्वतको नदी किनारका बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन । म्याग्दीको राम्चे–९ काफलडाँडानजिकै पहाड खसेर गएको निरन्तरको सुख्खा पहिरोले कालीगण्डकी नदी थुनिएपछि पर्वतका कालीगण्डकी नदी किनारका बस्ती खाली गराइएको छ । पर्वतको वारीबेनी, बौर, मिलनचोक, खनियाँघाट, फर्से, मालढुंगा, र सबैभन्दा होचो भागमा रहेको सेतीबेणीबजार समेत जोखिममा परेका छन । यी बस्तीका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले बताउनुभयो । कालीगण्डकी ए जलबिद्युत आयोजनाको बाँधका सबै ढोका खोल्न निर्देशन दिएको र सेतीबेणी बजारका बासिन्दालाई समेत सुरक्षित स्थानमा जान भनिएको उहाँले बताउनुभयो । कालीगण्डकी नदीबाट बढी प्रभावित क्षेत्र पर्वतको माझफाँट गाविसवारी बेनी बजारका बासिन्दाहरु आफ्ना माल समान बजारबाट बोकेर सुरिक्षत स्थानतर्फ लागेका छन । कालीगण्डकी नदी किनारमा रहेका प्रहरी निकाय चौकीबाट प्रहरी परिचालन नै गरेर सतर्कता अपाउन स्थानीयबासिन्दालाई भनिएकोे छ । पर्वतको सेतीवेणी बजारमा कालीगण्डकी ए जलविद्युत परियोजनाले निर्माण गरेको बाँधका कारण यसअघि नै ५ किलोमिटर जलासय बनिसकेको थियो भने अहिले कालीगण्डकी थुनिएपछि पछि झनै जोखिम हुन सक्ने अनुमान गरिएको छ ।
