पोखरा । प्रमुख दलहरुले निर्धारित मितिमा संविधान दिन नसकेको विरोधमा राप्रपा नेपाल कास्कीले आज पोखरामा प्रदर्शन गरेको छ । नयाँबजार स्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस विभिन्न नाराबाजी गर्दै सिर्जनाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ्ले नेपाली आमालाई रुवाउने काम भएको आरोप लगाए । उनले राष्ट्रियता संकटमा पर्दै गएको भन्दै ठुला दलहरुले झन संकटमा पार्दै गएको बताए । संविधान नबनेसम्म राप्रपा नेपालले आफ्ना विरोधका कार्यक्रमहरु निरन्तर राख्ने बताउँदै गुरुङ्ले हिन्दु राष्ट्र सहितको संविधान आजको आवश्यकता भएको बताए । हिन्दु राष्ट्र कायम नभएसम्म राप्रपा नेपालको यात्रा नरोकिने बताउँदै उनले ठुला पार्टीले सनातन धर्मलाई मास्न लागेको आरोप लगाए । कार्यक्रममा राप्रपा नेपाल कास्की जिल्ला अध्यक्ष जयलाल पुनले देश चरम भ्रष्टाचारमा डुबेको बताउँदै राजनीतिक दलका नेताहरु संविधान निर्माण भन्दा पनि सत्ता, कमिसन र भ्रष्टाचारमा लीप्त रहेको आरोप लगाए ।देशलाई बचाउन राप्रपा नेपालले जस्तोसुकै योगदान दिन तत्पर रहेको बताउँदै उनले राप्रपा नेपालको कार्यक्रमहरुलाई ठट्टाको विषय नबनाउन चेतावनी दिए । विरोध कार्यक्रममा संविधान निर्माण गर्न असफल ठुला दलका नेताहरुको पुत्ला दहन पनि गरिएको थियो । सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ्, प्रेम मल्ल तथा पार्टी सचिव अर्जुनबहादु बस्नेत लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
