पोखरा  ।
६६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा ३६५ दिन मानवअधिकार, घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने राष्ट्रिय नाराका साथ २०७१ मङसिर २२ गतेदेखि २४ गतेसम्म तीन दिवसीय विविध कार्यक्रमका साथ पोखरामा प्रथमपटक क्षेत्रीय मानवअधिकार महाभेला हुने भएको छ ।  press meet महाभेला सम्पन्न गर्न राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ भने शान्तिका लागि नागरिक समाजको सञ्जालको संयोजकत्वमा पश्चिमाञ्चल क्षेत्रीय मानवअधिकार महाभेला आयोजक समिति गठन भएको छ ।हरेक वर्ष १० डिसेम्बरका दिन विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रुपमा मनाईने गरिन्छ । विगतका वर्षहरुमा आ–आफ्नै तरीकाले कार्यक्रमहरु आयोजना गरी मनाउने प्रचलन रहेकोमा यसपटक विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमको बारेमा मङसिर २१ गते एक पत्रकार सम्मेलन गरी विभिन्न कार्यक्रम बारे सार्वजनिक गरिएको हो ।  कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले सरकारी, गैरसरकारी संस्था र नागरिक समाजको कार्यक्रमलाई एकीकृत गरी मानवअधिकारको संरक्षणमा साझा दायित्व बहन गर्ने उद्देश्यले महाभेला कार्यक्रम आयोजना गरिएको बताए । उनले अधिकारप्रतिको सचेतना र कर्तव्यप्रति जागरुकता ल्याए मानवअधिकार संस्कृतिको विकास गर्न कार्यक्रमले टेवा पु¥याउने उल्लेख गर्दै मानवअधिकारलाई विकास र शासनसँग जोडेर हेर्नु पर्ने बताए ।पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका विभिन्न सरकारी निकाय, मानवअधिकारकर्मी, नागरिक समाज लगायतको सहभागीता रहने उक्त कार्यक्रमको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।  कार्यक्रम अन्तर्गत मङसिर २२ गते विहान मानवअधिकारचोक चिप्लेढुङ्गामा रक्तदान तथा स्टीकर वितरण, विभिन्न विद्यालयहरुमा मानवअधिकार तथा बालअधिकार विषयक सचेतना कार्यक्रम, मङसिर २३ गते होटेल लिगेसी मुस्ताङचोकमा पश्चिमाञ्चलमा बालअधिकारको वर्तमान अवस्था र सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया, मङसिर २४ गते मानवअधिकारचोक चिप्लेढुङ्गाबाट प्रभातफेरी शुरु भइ सभागृहचोकमा महाभेला तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा सम्मान कार्यक्रम रहेका छन् ।  कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पोखराका निर्देशक तथा मुल समारोह समितिका संयोजक डा.टीकाराम पोखरेलले मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्न राज्यबाट मात्र सम्भव नभएकाले सबै सरोकारवाला निकायको सहयोग र समन्वयको खाँचो रहेको बताए ।शान्तिका लागि नागरिक समाजका संयोजक रामप्रसाद सुवेदीले मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्न आम नागरिकमा सन्देश प्रवाह गर्ने उद्देश्यले महाभेला आयोजना गरिएको सफल पार्न सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका हुने बताए ।
 
Top