रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान लिइने भाषा परीक्षा शुक्रवारदेखि सुरु हुने भएको छ । परीक्षा शनिवार पनि हुनेछ । भाषा परीक्षाका लागि दक्षिण कोरियाको मानव संशाधन विकास (एचआरडी)का उपाध्यक्ष चुन बोक लिनको नेतृत्वमा ६२ सदस्यीय टोली बुधवार नेपाल आइसकेको छ । उनीहरुले भाषा परीक्षाको अनुगमन र परीक्षण गर्नेछन् । टोलीले परीक्षा अवस्थाको प्रतिवेदन बनाउनुका साथै उत्तरपुस्तिका पनि कोरिया लैजानेछ । भाषा परीक्षाको नतिजा असोज २९ गते सार्वजनिक हुनेछ । उत्तरपुस्तिका जाँच गर्ने जिम्मा कोरिया आफैले लिएको छ । 
कम्प्युटर प्रणालीबाट उत्तरपुस्तिका परीक्षण हुनेछ । ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले भाषा परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ईपीएस कोरिया शाखाका अनुसार एचआरडी कोरियाको टोलीलाई नेपालमा रहेका एक सय ५० जना कोरियन नागरिकले परीक्षामा प्रत्यक्ष सहयोग पुर्याउने छन् । यसबाहेक नेपाली पक्षले आफ्नो तर्फबाट आवश्यक कर्मचारीको ब्यवस्था गरिसकेको छ । परीक्षामा श्रम तथा रोजगार मन्त्रालयका ८८ जनासहित करिब एक हजार आठ सय जना कर्मचारी परिचालित हुने भएका छन् । परीक्षा सञ्चालनका लागि २२ वटा केन्द्र तोकिएको छ । जसमा काठमाडौमा १५ र ललितपुरमा सातवटा रहनेछन् । दुवै दिन दुई सिफ्टमा परीक्षा सञ्चालन हुँदैछ ।
 
Top