२७ भदौ, काठमाडौं । सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ गते हुने भएको छ । कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादी नेताहरु रहेको चार दलीय कार्यदलले राजनीतिक सभाको मिति र स्थान तय गरेको हो ।
राजनीतिक सभा ३१ गते विहान साढे ८ बजे संविधानसभा भवन नयाँबानेश्वरमा हुनेछ । संविधानसभामा भएका ३१ दल सहभागी हुन्छन् । बैद्य माओवादीको ३३ दलीय मोर्चामा भएका दलसहित क-कसलाई सहभागी गराउने टुङ्गो लाग्ने बाँकी रहेका नेताहरुले बताएका छन् । स्रोतका अनुसार संविधानसभामा रहेका ३१ दल र बैद्य नेतृत्वको मोर्चामा रहेका ३३ दल सहभागी हुनेछन् ।
कार्यदलले गरेको सहमतिलाई शीर्ष नेताहरुले अन्तिम रुप दिन भने बाँकी छ ।
यसअघि बिहीबार बसेको चार दलको बैठकमा राजनीतिक सभा कांग्रेस-एमाले र बैद्य माओवादीले १२ घन्टाको फरक समय प्रस्ताव गरेका थिए । कांग्रेस र एमालेले ३१ गते गर्ने प्रस्ताव गरेको थियो भने बैद्य माओवादीले १ गते गर्नु पर्ने अडान राखेको थियो ।
बैद्य माओवादीमा बादल निर्णायक
स्रोतका अनुसार ३१ गते नै गोलमेच सभा गर्न बैद्य माओवादीभित्र सहमतिका लागि महासचिव रामबहादुर थापा बादलले निणर्ायक भूमिका खेलेका थिए ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले समेत पहल गरेका थिए ।
चार दलको बैठक भाँडिएपछि एमाओवादी नेता प्रकाशले फेसबुकमार्फत प्राविधिकार कारण राजनीतिक सभा गर्ने निर्णय नहुने लज्जास्पद भएको भन्दै तत्काल गल्ती सच्याउनु पर्ने बताएका थिए ।
एजेण्डा पनि टुङ्गो लाग्न बाँकी
सर्वपक्षीय राजनीतिक सभामा एजेण्डाहरु भने टुङ्गो लाग्न बाँकी छ । तर, कार्यदल सदस्य अग्नि खरेलले संविधानसभा भवनमा बैठक बस्ने भएपछि संविधानका अन्तरबस्तुबारे नै कुरा हुने बताएका छन् । बैद्य माओवादीले माग गरेको स्थायी राजनीतिक संयन्त्रबारे पनि दलहरुबीच सहमति जुट्न बाँकी छ ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र राजनीतिक राजनीतिका महत्वपूर्ण विषयमा सहमति गरेर राजनीतिक संयन्त्र बनाउनु पर्ने बैद्य माओवादीको माग छ ।
